काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिएको निरङ्कुश राजतन्त्रलाई पुनःस्थापना गर्ने सपना देख्ने राजावादी शक्तिहरूको अराजक र असहिष्णु व्यवहारविरुद्ध मजदुर वर्गलाई सचेत खबरदारी गर्न आह्वान गरेका छन्।
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बिहीबार राजधानीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले सत्तामा पुगे राजावादीहरूले दानवीयता प्रदर्शन गर्ने भन्दै यस्ता शक्तिहरूलाई जवाफ दिन मजदुर वर्ग एकजुट हुनुपर्ने बताए।
“फालिएको राजतन्त्रका पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुनेको हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो। सत्तामा नहुँदा यति उग्र छन् भने सत्तामा पुगे यी दानवहरूले के गर्लान् ? शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडीले किच्ने प्रयास गर्छन्। यस्ता शक्तिहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन्,” नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले भने।
उनले राजावादीहरूले आफूलाई मन नपर्ने कलाकारको गीत वा फिल्म बहिष्कार गर्ने असहिष्णु प्रवृत्तिको आलोचना गरे। प्रधानमन्त्री ओलीले विगतमा राजाहरूले गरेका अपराधमा अहिलेसम्म छानबिन नगरेर सरकारले उल्टै उपकार गरेको आशय व्यक्त गर्दै राजावादीहरूको चुनौती स्वीकार गर्ने र लोकतन्त्रको रक्षा गर्न कटिबद्ध रहेको बताए।
“हामी उनीहरूको चुनौती स्वीकार गर्छौं र जवाफ दिन्छौं। लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुँदैन,” उनले जोड दिए। उनले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिएको मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिका लागि गतिशील हुन आग्रह गरे।
“श्रमजीवी वर्गले विगतमा जस्तै सचेत भएर राजतन्त्रवादी अराजकताविरुद्ध उभिनुपर्छ,” ओलीले भने। उनले विश्वभरका श्रमजीवी वर्गप्रति ऐक्यबद्धता जनाउँदै मजदुर आन्दोलनको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गरे।
प्रतिक्रिया दिनुहोस्