जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ११:०८

यी युवतीका कारण कानुन नै बदल्न बाध्य भयो इरान


काठमाडौं, कात्तिक १६ । इरान सरकार एक युवतीको सामु झुक्दै कानूननै बदल्न बाध्य भएको तथ्य बाहिर आएको छ । इरान सरकार २१ बर्षीय युवतीको कारण खेल मैदानमा महिला प्रवेश गर्न नपाउने कानून बदल्ने दिशामा इरान सरकार पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।

समाचारमा जनाइएअनुसार खेल मैदानमा महिला प्रवेश गर्न नपाउने इरानी कानूनबारे २१ वर्षीया शेहर खोडयारी जानकार थिइन । तर उनी जसरी भए पनि फुटबल म्याच हेर्न चाहन्थिन । यही चाहनाबीच गत मार्चमा उनको मनपर्ने टिम मैदानमा उत्रियो । शेहरले पुरुषका लुगा लगाएर भए पनि फुटबल हेर्ने जिद्दी गरिन । निलो रङको नक्कली कपाल र लामो ओभरकोट लगाएर उनी तेहरान आजाद स्टेडियमतिर गइन । तर स्टेडियमभित्र प्रवेश गर्नुअघि नै उनीलाई सुरक्षाकर्मीले पक्रा गर्यो ।

‘गैरकानुनी’ हर्कत गरेको आरोपमा उनलाई अदालतले पक्राउ पूर्जी पठायो । अदालतको यो पुर्जीपछि उनले अदालतअगाडि नै आत्मदाह गरिन । शरीरको ९० प्रतिशत भाग जलेर घाइते भएकी उनलाई तत्कालै अस्पताल पुर्याइए पनि दुई सातापछि तेहरानको अस्पतालमा प्राण त्यागिन । शेहर खोडयारीको मृत्युपछि सामाजिक सञ्जालहरूमा व्यापक अभियान चल्यो । महिलाहरूले पनि स्टेडियममा बसेर खेल हेर्न पाउनुपर्ने आवाज उठ्यो । अभियानमा इरानी महिलाहरूको पनि उत्तिकै सहभागिता देखियो । सामाजिक सञ्जालमा संसारभरका मान्छेले इरानी सरकारको विरोध गरे । चौतर्फी दवाबपछि इरान सरकार महिलाले स्टेडियममा प्रवेश गर्न नपाउने नियम खारेज गर्न बाध्य भएको छ ।

यो घटनापछि इरान सरकारले क्याम्बोडियासँग हुन लागेको आगामी फुटबल खेलमा कम्तीमा ३५ सय महिला प्रशंसकले स्टेडियममा बसेर म्याच हेर्न पाउने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धतासँगै खेलका निम्ति धमाधम टिकट बिक्री भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। बिबिसीका अनुसार सन् २०२२ को विश्वकप क्वार्टर फाइनल खेलका लागि पनि स्टेडियममा महिलाहरूका निम्ति सिट बढाउने तयारी भएको छ ।