जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १४:१६

नेकपाको सचिवालय बैठक सकियो : उपनिर्वाचनको उम्मेद्वारीबारे आयो यस्तो निर्णय


काठमाडौं, कात्तिक १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वार छनोटको गृहकार्य अघि बढाएको छ । आज बसेको नेकपाको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्दै गृहकार्य अघि बढाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकपछि प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरिएको छ ।

श्रेष्ठका अनुसार आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने छ । उपनिर्वाचनको उम्मेद्वारी टुंगो लगाउन आइतवार पनि सचिवालय बैठक बोलाइएको छ । ‘कहीँबाट एक जना, कतैबाट २’३ जनाको नाम सिफारिस भएर आएको रहेछ। पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले भन्नुभयो ‘भोलि सचिवालय बैठक बसेर उम्मेदवार तय गर्छौं।’ नेकपाले उपनिर्वाचनको उम्मेद्वारीबारे आज पहिलो पटक छलफल गरेको हो ।