जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ०८:५९

उपचारपछि झनै सक्रिय बने प्रधानमन्त्री ओली


काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको थप सक्रिय बन्नुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर मिडियामा अफवाह फैलाइरहेको बेला उहाँ भने अन्य बेलाको भन्दा थप सक्रिय बन्नुभएको हो ।

मृर्गौलाले नियमित रुपमा काम गर्न छाडेपछि डायलाइसिस सुरु गर्नुभएका प्रधानमन्त्री ओली आइतवार निकै सक्रिय बन्नुभयो । गत बुधवार र बिहीवार ग्रान्डी अस्पतालमा उपचार गराएर बिहीबार साँझ निवास फर्कनुभएका प्रधानमन्त्री ओली शुक्रबारदेखि नै नियकित भेटघाटमा व्यस्त बन्नुभयो । शनिबार र आइतबार मन्त्रिपरिषद् र पार्टीका बैठकमा समेत सहभागी हनुभयो । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो। साझ उहाँकै अध्यक्षतामा साँझ बसेको नेकपाको सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगायो ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान बसेको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो । बैठकमा केहीबेर उम्मेदवार छनोटबारे पनि छलफल भएको थियो । त्यस्तै, शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग करिब एक घन्टा छलफल गर्नुभयो । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलसँग पनि उहाँले छलफल गर्नुभएको थियो । शनिवार नै उहाँले आफ्ना निजिी चिकित्शक प्राडा दिव्या सिंह, अरुण सायमीलगायतको चिकित्सक टोलीसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री काममा सक्रिय बन्दा मिडियामा भने उहाँ पुनः डायलाइसिसका लागि अस्पताल पुगेको भन्दै अफवाह फैलाउने काम भयो ।

‘प्रधानमन्त्री नियमित काममै हुनुहुन्छ, उहाँ एग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा हुनुहुन्छ । शुक्रवार, शनिवार र आइतवार तिनै दिन थप सक्रिय बन्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री ओलीले परिणाममुखी कामका लागि मन्त्रीहरूलाई पनि गम्भीरतापूर्वक निर्देशन दिनुभएको छ ।’

बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्कँदै गर्दा अस्पताल परिसरमा प्रधानमन्त्री ओलीले मुस्कानसहित आफू ‘फिट एन्ड फाइन’ रहेको बताउनु भएको थियो । दुई दिनयता पार्टी र सरकारको बैठकमा कम्तीमा डेढदेखि दुई घन्टासम्म छलफलमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आइतवार नै दोस्रो बैठक पनि बोलाए पनि समय अभावका कारण आज विहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । सो बैठकले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्ति गर्ने सम्भावना बलियो रहेको छ ।

सोमबार पनि प्रधानमन्त्रीको व्यस्थ कार्यतालिका रहेको छ । अहिले विहान सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुख, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।