जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १५:५६

एमाले महासचिव शंकर पोखरेलको निष्कर्ष : राजावादीले गर्ने आन्दोलन जनताविरूद्वको आन्दोलन हो


दाङ, जेठ ६। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताविरूद्धको आन्दोलन भएको ठोकुवा गर्नुभएको छ ।

४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्न गृहजिल्ला दाङ आउनु भएका महासचिव पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभइ जनताका विरूद्व भएको बताउनु भयो ।

‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन, नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’

उहाँले राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको तथ्य पनि स्मरण गराउँदे गलत कुराका पक्षमा नलाग्न आग्रह गर्नुभयो । राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरूद्व प्रहार गरिरहेको बताउनु भयो ।

स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने समेत टिप्पणी गरे । विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने भन्दै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने बताए । विदेश जानु केहिको बाध्यता भएपनि धेरै रहरले विदेश जाने गरेको पनि बताउनु भयो ।

‘रहरले विदेश जानेपनि छन । देश छोडेर देश निर्माणका कुरा गर्नेको संख्या दिनदिनै बढ्दो छ,’उहाँको भनाईथियो । महासचिव पोखरेलले युवा विदेश पलाएनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने जानकारीसमेत दिनुभयो ।