जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार ०७:५६

बालविवाह नियन्त्रणको लागि लिखु तामाकोशीमा समुदाय परिचालन कार्यक्रम 


रामेछाप, ९ जेठ । लिखु तामाकोशी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत शिक्षक, विद्यार्थीहरूका लागि सचेतना कक्षा सञ्चालन गरेको छ ।

शाखाको आयोजनामा सो गाउँपालिकाको वडा नं २ सैपु स्थित अरुणोदय माविमा एक दिने कार्यक्रम सम्पन्न भएको  हो ।

लिखु तामाकोशी गाउँ कार्यपालिका सदस्य एवं स्थानीय बाल अधिकार समिति संयोजक रामबहादुर सुनुवारको अध्यक्षता तथा वडाध्यक्ष सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी नवराज पथिकले बाल अधिकार, बाल यौन शोषण र बच्ने उपाय, बाल विवाह र त्यसले समुदायमा पार्ने प्रभाव तथा नियन्त्रणमा शिक्षक, विद्यार्थीको भूमिका, लागु औषधको प्रयोग र त्यसले पार्ने प्रभाव लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका सहभागीलाई विद्यालयका प्रधानाध्यापक गङ्गाबहादुर कार्कीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय धोबीका वरिष्ठ प्रहरी नायव निरीक्षक रजतकुमार सिंह, प्रहरी हवलदार अञ्जनहरि न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कमला खत्रीले जानकारी दिनुभयो ।