काठमाडौं १७ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने दाबी गर्नुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेविरुद्ध लागेर झन्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताउनुभयो । भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे ।
विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो, प्रधानमन्त्री ओलीले भन्नुभयो , व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन ।
प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झन्डा बोक्न नछोड्न आग्रह गर्नुभयो । म एमालेको झोले हुँ, यति भन्दा एमालेका विरोधीलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ, अध्यक्ष ओलीले भन्नुभयो, तपाईँहरु बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।
प्रतिक्रिया दिनुहोस्