जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १३:२७

अफिस टाइममा महिला यात्रु मात्रै बोक्छ गंगारामको गाडी, यसरी ढुक्क देखिन्छन महिला–दिदीबहिनी


नीता राउत/काठमाडौं । भक्तपुरको कमलविनायक हुँदै पुतलिसडक–बागबजार रुटमा चल्ने गंगारामको गाडीको सिस्टमको बारेमा चर्चा गरिराख्नु पर्दैन होला । उनको गाडीमा न त सहचालक छन, त त ठेलमठेल गरेर यात्रा गर्नु पर्ने डर । त्यति मात्र नभएर अहिले उनको गाडीमा बिहान अफिस टाईममा महिलालाई मात्र चढाउने गरेका छन् ।

हरेक बिहान ८.४५ मा भक्तपुरको कमलविनायकबाट छुटने उक्त गाडीमा महिलालाई मात्र चढाउने गरेको चालक गंगाराम खाईजुको भनाई छ । ‘अफिस टाईममा धेरै भिड हुने र महिला दिदिबहिनीलाई कतिपय पुरुषले नराम्रो व्यवहार गरेको थाहा पाएपछि महिला दिदिबहिनीको सुरक्षाको लागि यस्तो सिस्टम लिएको हुँ,’ खाइजुले जनताटाइम्ससँग भन्नुभयो । उपत्यकाको सडकमा चल्ने गाडीमा महिलाको लागि अति असहज हुने गरेको छ । तर गंगारामको गाडीमा भएको सिस्टम त्यसमाथि कार्यालय समयमा महिला मात्र चढने ब्यवस्था भएपछि सुरक्षित र आनन्द महसुस गरेका छन् यात्रीहरुले ।

कौशलटारबाट गंगारामको गाडी चढनुभएकी २७ बर्षीया दिप्ती थापाले भन्नुभयो, ‘यो सिस्टमले गर्दा अफिस समयमा अफिस जान धेरै सहज र सुरक्षित भएको छ, ढुक्क महसुस हुन्छ,’ थापाले भन्नुभयो, ‘अरु गाडीमा ठेलमठेल गरेर जानुपर्छ अझ कतिपय पुरुष त टच गर्न आउछन, करायो उल्टै कसैले नछौइकनबस्नआफ्नो गाडी किनेर हिड्नुपर्छ भनेर जवाफ फर्काउँछन ।’ महिलाको समस्या बुझेर यस्तो काम थालेका खाईजुले गाडी चढ्न साथ भाडा राख्न अनुरोध गर्नुहुन्छ । अनि मिलेर बस्न पनि अनुरोध गर्दै टाफिक जामको समयमा बेला बेलमा सिष्टमको साथ साथै विभिन्न जानकारी दिनुहुन्छ ।

उहाँको गाडीमा पानी र चाउचाउ पनि किन्न सकिन्छ । साथै त्यसको खोलको व्यवस्थापन गर्न ठाउँठाउँमा फोहोर फाल्ने भाँडा पनि राखिएको छ । भक्तपुर घर भएका चालक खाईजुले गाडी चलाउ नथालेको १९ वर्ष भयो । उहाँले गतवर्षको असारदेखि यो सिस्टम शुरु गर्नुभएको हो । उहाँले बेला बेलामा आफ्नो गाडीमा फरक सिस्टम ल्याएर यात्रुहरुलाई सहज र आनन्द महसुस गराउँदै आउनु भएको छ ।

सबै कुरामा नेतालाई गाली गर्नु भन्दा आफुले अंगालेको पेशाबाट सुधारको प्रयास गर्नु राम्रो भन्ने ठानेर आफुले चलाउने गाडीमा नयाँ सुरुवात गरेको र यसबाट यात्रुहरुलाई यात्रामा सहजता, वातावरण सफा तथा सुरक्षित एवं सभ्य यात्रामा टेवा पुगेको बुझाई चालक गंगाराम खाईजुको छ । उहाँको जस्तै यो सिस्टम अरु गाडीमा पनि लागु गरिदिए यात्रुहरुलाई यात्रा गर्न सहज र आनन्द महसुस हुन्थयो कि ।