जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार ०७:२९

अग्नि सापकोटामाथि अनुसन्धानका लागि पक्राउ गर्नेसमेत बाटो खुल्यो (यस्तो छ घटनाको विवरण)


काठमाडौं, २२ जेठ । द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउने बाटो खुलेको छ ।अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेसँगै सापकोटाविरुद्ध प्रहरीबाट अनुसन्धान गर्ने बाटो खुलेको हो ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा बुधबार भएको सुनुवाइपछि पूर्णिमायाकै मागबमोजिम उत्प्रेण आदेश जारी भएको छ ।

यसअघि सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेर अन्तिम फैसलाको तयारी गरेको थियो । संवैधानिक इजलासले बुधबार पूर्णिमाया लामाले मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरषिद् कार्यालयसमेत ७ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा यस्तो आदेश जारीसँगै अब सापकोटाविरूद्ध अनुसन्धानको बाटो खुलेको उहाँका वकिल पुष्पराज पौडेलले बताउनुभयो । ‘सर्वोच्चको संवैधानिक इजलासले यसअघि सरकारले विभिन्न सापकोटा र माओवादी केन्द्रका सांसद सूर्यमान दोङसहितविरुद्ध दर्ता भएको मुद्दा तामेलीमा राख्ने निर्णयलाई खारेज गरिदिएको छ’, पौडेलले भन्नुभयो , ‘सापकोटा र दोङविरुद्ध परेको जाहेरी र अनुसन्धान प्रक्रियालाई तामेलीमा राख्ने निर्णय उत्प्रेषण आदेशसँगै खारेज भएपछि अब अनुसन्धान अघि बढ्छ । अब सापकोटासहितका प्रतिवादीहरूलाई अनुसन्धानका लागि पक्राउ गर्नेसमेत बाटो खुलेको छ ।’ पौडेलले सापकोटाहरूले भन्दै आएको द्वन्द्वकालीन मुद्दालाई सर्वोच्चले संक्रमणकालीन न्यायतिर जोडेर व्याख्या नगरेको पनि बताउनुभयो । ‘टीआरसीलाई जिम्मा लगाउन पनि पहिले त अनुसन्धान हुनु पर्‍यो नि । यो मुद्दाको सुनुवाइका क्रममा टीआरसीबारे पनि कुरा उठेको हो’, उहाँले भन्न्ुभयो , ‘सर्वोच्चले टीआरसीमा लाने नलाने आदेश दिँदैन । पहिले त यो प्रकरणको अनुसन्धान हुनुपर्‍यो । हामीले सर्वोच्चमा वादी र प्रतिवादीले भन्दैमा टीआरसीको विषय बन्नु पर्छ भन्ने हुँदैन ।’

यो मुद्दाको सुनुवाइका क्रममा आफू द्वन्द्व पीडित भएकाले भरण पोषण र क्षतिपूर्तिका लागि संक्रमणकालीन न्यायले व्यवस्थाअनुसार निवेदन हालेको बबताउनुभएको थियो । ‘मैले २०७६ सालदेखि नेपाल सरकारसँग न्याय माग्दै आएको थिएँ । न्याय माग्दा नदिने, मेरो लोग्नेको हत्यारालाई कारबाही पनि नगर्ने । यो अवस्थामा राज्यले मेरो भरणपोषण गर्ने दायित्व थियो । राज्यले मेरो पतिको सुरक्षा पनि गर्न सकेन, त्यहीकारण मैले टीआरसीमा क्षतिपूर्ति माग दाबी गरे हो । टीआरसीअनुसार राज्यसँग क्षतिपूर्ति मेरा पतिका हत्यारालाई मुद्दा नचलाउने भन्ने हुँदैन , ’ उहाँले सर्वोच्चमा जिकिर गर्नुभएको थियो ।

आफ्ना पति अर्जुन लामको द्वन्द्वकालमा भएको हत्यामा संलग्नविरुद्ध पूर्णिमायाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । तर उहाँले दिएको जाहेरी जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसपछि उनी रिट लिएर सर्वोच्च जानुभएको थियो । जहाँबाट उक्त जाहेरी दर्ता गराएर अनुसन्धन थाल्ने निर्देशनात्मक आदेश भएको थियो । अधिवक्ता पौडेलका अनुसार सर्वोच्चको आदेशपछि पूर्णिमायाको जाहेरीका आधारमा काभ्रे प्रहरीले सापकोटाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। त्यसपछि २०६९ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले काभ्रे प्रहरीमा दर्ता सापकोटाविरुद्धको जाहेरी दरखास्त ‘तामेली’मा राख्ने निर्णय गरेको थियो। अनुसन्धान अघि बढेर पक्राउ पुर्जी जारी भएको अवस्थामा भट्टराई सरकारले क्याबिनेबाट मुद्दा तामेलीमा राख्ने निर्णय गरेपछि अर्जुनकी पत्नी पूर्णिमाया सर्वोच्च जानुभएको थियो । उहाँले भट्टराई मन्त्रिपरिषद्को सापकोटाविरुद्धको अनुसन्धान‘तामेली’मा राख्ने निर्णय खारेज गर्न मागसहित २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

यस्तो छ घटनाको विवरण

काभ्रेकी पूर्णिमाया लामाका पति अर्जुन लामा काभ्रेको श्रीकृष्ण माविबाट १६ वैशाख २०६२ मा अपहरणमा परेका थिए । अर्जुन लामा २०५८ सालदेखि काठमाडौंको कालीमाटीमा बस्थे र ठेक्कापट्टाको काम गर्थे । अर्जुन काभ्रेको श्रीकृष्ण माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएकै दिन अपरहणमा परेका थिए । नयाँ व्यवस्थापन समितिको स्वागतमा कार्यक्रम भइरहेका बेला उनी अपहरणमा परेका थिए ।जाहेरीमा उल्लेखित विवरण अनुसार अपहरण गर्नेमा माओवादी कार्यकर्ता यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम थिए । अपहरणपछि लामालाई माओवादी कार्यकर्ताले काभ्रेको डाँडापारि क्षेत्रका विभिन्न गाविस घुमाएपछि बुढाखानीको चारकिल्ला भन्ने ठाँउमा पुर्‍याएका थिए ।अपहरणपछि डुलाउने क्रममा अर्जुनलाई सैन्य प्रशिक्षण कार्यक्रममा पुर्‍याएको, त्यहाँ माओवादीका केन्द्रीय सदस्य अग्नि सापकोटा समेत रहेको अनि माओवादी कार्यकर्ता नोर्बु मोक्तानले आफ्ना पतिलाई माओवादी नेता सापकोटासमक्ष बुझाएको जाहेरीमा उल्लेख छ ।

असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा उनको हत्या भयो । जमिनमा गाडेको अवस्थामा पछि शव फेला परेको थियो । उनले जाहेरीमा भनेकी छन्, ‘निजकै प्रत्यक्ष निर्देशनमा चारकिल्ला क्षेत्रमा माओवादी कार्यकर्ताले मेरो श्रीमानको हत्या गरी लास गाडेर हिँडेका रहेछन् ।’
किटानी जाहेरीमा माओवादी नेता अग्नि सापकोटाको समेत नाम थियो । उहाँको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको थियो । पुर्जीमा सापकोटा, सूर्यमान दोङ लगायत ६ जनाको नाम छ ।सोधखोजपछि माओवादी नेता सूर्यमान दोङले २ पुस, २०६२ मा पत्रकार सम्मेलन गर्नुभयो । अर्जुन लामा माओवादी कार्यकर्ताको नियन्त्रणमा रहेकै बेला घर्तीछापमा नेपाली सेनाले हेलिकप्टरबाट गोली र बम प्रहार गर्दा मृत्यु भएको भनी जानकारी गराउनुभएको थियो ।
उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनास्थलको स्थलगत अनुसन्धान गर्‍यो । त्यस क्रममा आफ्ना पति घर्तीछापको भिडन्तमा नमारिएको र नियन्त्रणमा लिएर हत्या भएको पूर्णिमायाको जिकिर थियो ।
शान्ति प्रक्रिया सुरु भएपछि पूर्णिमाया जाहेरी दर्ताका लागि प्रहरीमा जानुभयो । प्रहरीले जाहेरी दर्ता गर्न मानेन । जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालीन घटना हेर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने संवैधानिक व्यवस्था रहेको भन्दै जाहेरी लिन अस्वीकार गर्‍यो । उहाँले सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो । सर्वोच्च अदालतले २७ फागुन, २०६४ मा निवेदन दर्ता गर्नू भनी आदेश दिएको थियो ।