जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार ११:४४

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या


ढोरपाटन (बागलुङ), २२ जेठ। बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रुपमा फोहर व्यवस्थापन नहुँदा वातावरणनै प्रदूषित हुने गरेको छ । दक्षिण बागलुङको बजारका रुपम विकास हुँदै गएको कुश्मिसेराको फोहर अहिले जैमिनीधाम जाने सडक छेवैमा डम्पिङ हुँदै आएको छ । यसका कारण त्यस क्षेत्रमा दुर्गन्धित फैलिएको छ । नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन । फोहरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन् । बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । झण्डै ८ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहर फाल्दै आएको छ ।

नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहर ठूलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ । फोहरले तमानखोला र भूजीखोलासमेत दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ । सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन् । नगरपालिकाले खोला छेउमा फोहर थुपारेर दैनिक आगो लगाउँदा धुँवाले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताउनुभयो । गर्मीको समय फोहर कुहिएर टाढासम्म गन्ध आउने गरेको उहाँको भनाइ छ । यस ठाउँमा फोहर सही रुपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विक बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहर व्यवस्थापनका लागि जग्गा खोज्न सुरु गरेको बताउनुभयो । वर्षौँदेखि नै यहाँ फोहर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइड’ निर्माण गर्ने उहाँको भनाइ छ ।

सङ्घीय सरकारले फोहर व्यवस्थापनका लागि रु ८७ लाख विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहर हटाउने उहाँ बताउनुहुन्छ । कुश्मिसेराको फोहर व्यवस्थापनका लागि जग्गाकै समस्या छ । नगरपालिकाले जग्गा खोजीरहेको भन्दै गरे पनि अहिलेसम्म पार्यप्त पाउन नसक्दा फोहर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । औद्योगिकग्रामका लागि करिब एक सय रोपनी र फोहरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उहाँको भनाइ छ । दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहर व्यवस्थापन हुने उपप्रमुख शर्मा बताउनुहुन्छ । उपप्रमुख शर्माले भन्नभयो,“फोहर व्यवस्थापन गर्नतर्फ हामीहरु गम्भीरनै छौँ, साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको छ, केही ठाउँमा जग्गा पाइए पनि आवश्यक अनुसारको पुगेन, यद्दपि हामीहरुले विभिन्न ठाउँमा जग्गा हेर्ने र प्राप्त गर्नका लागि पहल गरिरहेका छौँ, अहिले व्यवस्थापन गर्दै आएको ठाउँमा उचित नहुँदा नहुँदै पनि बजारको फोहरलाई व्यवस्थापन गरि रहेका छौँ ।”