जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार ०८:१३

सर्वाेच्च अदालतमै अख्तियारको ‘स्ट्रिङ अप्रेसन’


काठमाडौं, कात्तिक २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतभित्रै ‘स्ट्रिङ अप्रेसन’ गरेको छ। एउटा मुद्दामा पैसाको बार्गेनिङ चलेको सुराकका आधारमा अख्तियार पहिलोपटक सर्वोच्च छिरेको हो। ‘स्ट्रिङ अप्रेसन’ पछि अख्तियारले एक जना नायब सुब्बालाई पक्राउ गरी आफ्नो हिरासतमा राखेको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार नायब सुब्बा सुधीर खड्कालाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो। भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुन्न पठाएका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ गरेको सुराकका आधारमा खडकालाई समात्न अख्तियारले सर्वाेच्चमै ‘स्ट्रिङ अप्रेसन’ चलाएको थियो । अभियुक्तकै आफन्तले अख्तियारलाई दिएको सूचनाका आधारमा उनी समातिएका हुन्। यसअघि जिल्ला र उच्च तहका कर्मचारी ‘स्ट्रिङ अप्रेसन’ मा परे पनि सर्वोच्चमा अख्तियारले हात हालेको पहिलो घटना हो।नासु खड्कालाई अख्तियारको टंगालस्थित हिरासतमा राखिएको छ। उनलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियारलाई १५ दिनको अनुमतिसमेत दिएको छ।

‘घुस रिसवतमा समातिएको भनेर मंगलबार उहाँलाई थुना अनुमतिका लागि अख्तियारले २० दिनको म्याद मागेको थियो। अदालतबाट १५ दिनको थुना म्याद दिइएको छ,’ विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले भन्नुभयो, ‘उहाँलाई १८ गते पक्राउ गरेको जानकारी अख्तियारले दिएको छ।’

खड्काका अनुसार पुर्पक्षका लागि थुनामा पठाइएका एक अभियुक्तलाई छुटाइदिने भन्दै उनका दाइसँग रकम मागेको अख्तियारको भनाइ छ। ‘कलडिटेल्सलाई रिसवतको आधार लिइएको छ। कहाँबाट समातियो भन्ने जानकारी भएन,’ खड्काले भन्नुभयो। ‘थुनामुक्त गर्नका लागि म ठाउँमा कुरा मिलाउँछु भन्दै अभियुक्तका भाइसँग रकम मागेको कुरा छ,’ स्रोतले भन्यो, ‘विशेष अदालतले थुनामा पठाएपछि सर्वोच्चमा दर्ता भएको १७ नं निवेदनमा थुनुवालाई छुट्कारा दिलाउन प्रतिवादीका भाइसँग मागेको भन्ने छ, रिसवत लिए÷नलिएको, कसरी कहाँबाट समातेको भन्ने कुरा थाहा पाउन सकिएन।’