जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १२:०७

रोहित, विराटपछि यी भारतीय खेलाडीले लिए सन्यास


काठमाडौं, २४ जेठ । भारतीय क्रिकेट टोलीको इङ्गल्याण्ड भ्रमण अघि रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । अब अर्का एक भारतीय क्रिकेटरले पनि सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षीय भारतीय लेग स्पिनर पियुष चावलाले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दुई दशक लामो क्रिकेट करियर पछि उनले इन्स्टाग्राम पोस्टमार्फत यो निर्णयको बारेमा जानकारी दिएका हुन् ।

चावलाले लेखेका छन्, “मैदानमा दुई दशकभन्दा बढी समय बिताएपछि, यो सुन्दर खेललाई बिदाइ गर्ने समय आएको छ ।”

चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए । उनले विश्वकप विजेता टोलीको हिस्सा हुनुलाई आफ्नो जीवनको सबैभन्दा ठूलो आशिर्वादको रूपमा वर्णन गरेका छन् र यी सम्झनाहरू सधैं हृदयमा रहने उल्लेख गरेका छन् ।

चावलाले आईपीएल क्रिकेटमा पञ्जाव किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबाट खेलेका थिए ।