काठमाडौं, जेठ २९ । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको फेसबुक स्ट्याटसले एमाले पङ्तिमै ठूलो तरंग ल्याइदिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्षका सबैभन्दा विश्वासपात्र मानिनु भएका रिमालले चुनावमा मतदान हुनु केही समयअघि मात्र बालुवाटार कुनै उम्मेदवारको पक्षमा नरहेको र कृतिम नारा खडा नगर्न भन्दै तटस्थता कायम गरेर फेसबुकमा स्ट्याटस लेखेपछि एमाले पङ्ती तरंगित भएको हो ।
रिमालको यो भनाईले अनेरास्वबियुको निर्वाचनमा भुइचालो ल्याइदिएको छ । एमालेका उपमहासचिव रिमालले पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्व चयनका जारी मतदानकै बीच यो वा त्यो भन्दै आफैँभित्र कृतिम बैरी खडा नगर्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार रिमालले अनेरास्ववियुमा पहिलो पटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुनु अखिलको इतिहासमा महत्वपूर्ण मोड भएको बताउनु भएको छ । यस्तै उहाँले कृतिम बैरी खडा गर्ने काम भएको संकेत गर्दै त्यसो नगर्न सचेत गराउनु भएको छ ।
अखिलमा नयाँ नेतृत्वका लागि म्याग्दीका प्रकाश पौडेल र रामेछापका डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदैछ । रिमालको भनाईले पार्टी अध्यक्ष ओली यस विषयमा तटस्थ बस्नुभएको छ ।
‘यो वा त्यो, यो पक्ष वा त्यो पक्ष’ भन्दै आफैँभित्र कृत्रिम बैरी खडा गरी अस्वस्थता र कटुता सिर्जना गर्ने हैन, ‘सहमत हुँदा सर्वसम्मत नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्ने’ पार्टीले अपनाउँदै आएको विधिमा हामीले हाम्रा युवाहरूलाई प्रोत्साहित गर्नुपछ,’ नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुँदै गर्दा प्यानल नै बनाएर दुई समूह गएको चर्चाबारे रिमालले भन्नुभएको छ । रिमालको स्ट्याटसले अखिल निर्वाचनमा माहोल नै फेरिएको छ ।
‘बिहानसम्म एक पक्ष जस्तै थियो, उहाँको स्ट्याटस आएपछि माहोल एकाएक फरियो । प्रधानमन्त्रीबिरुद्ध अफवाह फैलाउने काम पनि रोकियो,’ निर्वाचनमा भेटिएका अखिलका प्रतिनिधिले भने ।
प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको स्ट्याटसले एमाले पङ्तीमा भूकम्प गएको छ । रिमालको फेसबुक स्ट्याटसपछि अनेरास्ववियुको निर्वाचन स्थल किर्तिपुरको माहोल नै अर्कै भएको छ भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध चलाइएको अफवाह पानीको फोकासरी सकिएर गएको पाइएको छ ।
किर्तिपुरको माहोल हेर्दा यस्तो लाग्छ, रिमालको स्ट्याटसले प्रधानमन्त्री केपी ओलीविरुद्ध चलाइएको मिसन पनि फेल गराउने काम गरिदिएको छ । अध्यक्षका प्रत्यासीद्वय डाक्टर सुजन कडरिया र प्रकाश पौडेल पक्षधर विद्यार्थीहरु ‘केपी बा जिन्दावाद’ भन्दै आ–आफ्नो पक्षमा भोट मागिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्