काभ्रेपलाञ्चोक, ३१ जेठ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द गरिएको छ । पटकपटक ताकेता गर्दा पनि कर तिर्न नटेरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ । नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा शुक्रबार ताला लगाएको हो । उक्त टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको छ । नगरको वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म रु ४५ लाख ८४ हजार कर नतिरेपछि उद्योगमा ताला लगाइएको हो ।
यस्तै कर नतिरेको वडा नं ६ मा रहेका कालीदेवी र चण्डेनी–नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि तथा वडा नं ७ मा रहेको दक्षिणकाली इँटा उद्योग इँटा उद्योगमा ताला लगाइएको छ । कालीदेवीले रु ६१ लाख, ८४ हजार, दक्षिणकालीले रु ४५ लाख, ८४ हजार कर तिरेका थिएनन् । चण्डेनी–नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो । नगरप्रमुख टोकबहादुर वाइबाले नगरको प्रावधानअनुसार पटकपटक कर तिर्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर ताला लगाइएको बताउनुभयो । “नगरले तोकेको मापदण्ड तथा कर तिरेपछि मात्रै ताला खोलिनेछ”, वाइबाले भन्नुभयो । उहाँका अनुसार ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्