काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक भावनामा खलल पुर्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले बताए ।
बस्नेतले आधारहीन विषय उठान गरेर समाजका प्रतिष्ठित राजनीतिज्ञहरू लाई गाली गरेर भिडियो पोस्ट गर्ने गरेको भेटिएको छ । त्यस्तै टिकटक लाइभमा उनले मधेसी समुदायलाई होच्याएर बोल्ने गरेको भेटिएको छ । उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन्। प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्