जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १०:४९

सरकारी छाप कीर्ते गर्ने फरार अभियुक्त पक्राउ


झापा, कात्तिक २२

सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य बिहीबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त आचार्यलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिएको छ । उच्च अदालतको इलाम इजलासले २०७४ साल माघ २२ गते निज आचार्यलाई कैद र जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी बहुविवाह मुद्दामा झापा जिल्ला अदालतबाट एक वर्ष कैद र रु पाँच हजार जरिवाना तोकिएको गौरादह नगरपालिका–१ की फरार अभियुक्त चन्द्रकला खेवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाले २०७२ वैशाख २७ गते खेवालाई कैद र जरिवाना गर्ने फैसला गरेको थियो । त्यसबेला फरार रहेकी खेवालाई खोजतलास गरी प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि खेवालाई झापा कारागार चलान गरिएको छ ।