जनता टाइम्स

६ असार २०८२, शुक्रबार ०६:१७

नेपालकै पहिलो ‘फ्लाईओभर’ निर्माण सम्पन्न, आज उद्घाटन गर्दै प्रधानमन्त्री ओली


ललितपुर, असार ६ । संघीय राजधानी काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थितको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य सकिएको छ ।

पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाईओभर’ को प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार विधिवत रूपमा उदघाटन गरेपछि सञ्चालनमा हुनेछ । सरकारले कष्टकर जामको समस्या समाधान गर्न ग्वार्काेमा फ्लाइओभर निर्माण गरेको हो ।

‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । ग्वार्काे फ्लाइओभर अघि बढाउने सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । उहाँकै निर्देशनअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रो पटक म्याद थप भएको थियो । फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार ठेकेदार कम्पनीले पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको छ । उहाँले ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भएको बताउनु भयो । ‘प्रारम्भिक डिजाइनअनुसार काम सुरु गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो । त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो ।

साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो । यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्यो,’ भण्डारीले भन्नुभयो । त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको उहाँको भनाई छ ।

भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्रे गरिनुका साथै ओभरपासको ¥याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको छ । बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुई वटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ ।  सो पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुने गरी डिजाइन गरिएको हो ।

केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरुको सम्झौताभन्दा १४ करोड रुपैयाँ लागत थप भएको जानकारी दिनुभयो । भण्डारीका अनुसार करिब १७ करोड छ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँ पुगेको छ ।

‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इन्जिनियरिङ, खरिद तथा निर्माण कार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ,’ प्रवक्ता भण्डारीले भन्नुभयो ।

भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात् निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटि सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।