सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोस्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोस्ट सञ्चालनमा आएको हो । उक्त पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालका लागि ११ जनाको सुरक्षाकर्मी टोलीले चौबिसै घण्टा सेवा दिने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
‘सूचना प्राप्त भएको केही समयमै उद्धार टोली परिचालन गर्न सक्ने संरचना तयार पारिएको छ’, उनले भने । मनसुनको उच्च जोखिम हुने तीन महिना (असार, साउन र भदौ) लाई लक्षित गरी हाललाई यो पोस्ट सञ्चालन गरिएको हो । भविष्यमा यसलाई थप सुदृढ, संस्थागत र स्थायी बनाउने योजना छ । ‘भविष्यमा जिल्लाका सबै पालिकामा लागू गर्न सकिने छ’, प्रजिअ घिमिरेले भने ।
सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, माप्यदूधकोशी, महाकुलुङलगायतका पालिकामा पुग्न सहज पर्ने मुख्य सडक नजिकैको क्षेत्र भएकाले गार्मा बजारलाई पोस्टको केन्द्र बनाइएको हो । उक्त पोष्टमार्फत मात्र कार्यान्वयन नभएर जिल्लाभरिका स्थानीय तहका विपद् समितिसँग पनि प्रत्यक्ष समन्वय गर्ने कार्य प्रारम्भ भइसकेको छ । प्रजिअ घिमिरेका अनुसार प्रत्येक पालिकाबाट विपद् प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउने र तालिम प्रदान गरेर एकीकृत प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्य छ ।
प्रतिक्रिया दिनुहोस्