जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १४:५७

पक्राउ पुर्जी जारी भएपछि मन्त्रीले दिए राजीनामा


कञ्चनपुर, कात्तिक २४ । ठगी तथा किर्ते मुद्दामा फरार रहेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । रावलले आज मुख्यमन्त्री त्रिलोचन भट्टसामु आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो ।

राज्यमन्त्री रावलले आज बिज्ञप्ती जारी गरी जिल्लाको एक क्याम्पसको शेयर बिक्रिमा संलग्नताको आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउनु भएको छ । केही दनअघि रावलको कार्यालयमै सम्पत्ति सुद्धिकरण बिभागले छापा हानेपछि राजीनामाको दवावमा पर्नुभएको थियो । रावलले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । रावलले आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सुद्धिकरण विभागले विस्तृत छानबिन अघि बढाउँदै छापा मारेको थियो ।

बहालवाला मन्त्रीमाथि विभागले यसरी विस्तृत छानबिन गरेको यो पहिलोपटक हो । मन्त्री रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपी कमल थापाको नेतृत्वमा विशेष टोली गठन गरेको छ  । सोही टोलीले बुधबार र बिहीबार मन्त्री रावलको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानबिन थालेको हो ।

विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको थियो । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको हो । मन्त्री रावलको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको भन्दै बिभागले सबै चल–अचल सम्पत्ति रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर राज्यमन्त्री रावलमाथि छानबिन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । मन्त्री रावलबिरुद्ध साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर भएको थियो । जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा राज्यमन्त्री रावलले पैसा लिएको जिकिर गरिएको छ । सोही आधारमा १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेपछि उनीहरूलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ ।