बाँके, २७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेसन थिएटर भवनको उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारको ७ करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो। उहाँले यो अस्पताललाई १५ शय्यामा सीमित नराखी ५० शय्याको अस्पतालका रूपमा विकास गरिने बताउनुभयो। ‘यसलाई १५ शय्यामा सीमित गर्नु हुँदैन,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अविलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु, प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत् रूपमा ५० शय्याको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौँ।’
उहाँले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गर्नुभयो। सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने र उपकरण तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापनमा पनि पहल गरिने जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले अस्पताल व्यवस्थापन समितिलाई गम्भीर ध्यान दिनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो।
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाललगायतले पनि सम्बोधन गर्नुभएको थियो।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डाक्टर गोपेशकुमार ठाकुरले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीले गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्