जनता टाइम्स

२६ असार २०८२, बिहीबार २२:२३

महाधिवेशनमा आफैँ सहभागी भएर पास गरेको दस्ताबेजमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता हो : शंकर पोखरेल


काठमाडौं, २६ असार  । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भएर आफैँले अनुमोदन गरेका दस्ताबेजहरूमा प्रश्न उठाउनु संगठनात्मक अराजकतापूर्ण कार्य भएको टिप्पणी गर्नुभएको छ।

पार्टीको दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित जनसङ्गठनका इन्चार्ज तथा पदाधिकारीहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाधिवेशनमा भाग लिने, दस्ताबेज पास गर्ने अनि पछाडि फर्केर त्यसैमा टिप्पणी गर्दै हिँड्ने प्रवृत्तिलाई अनुशासनहीन र अनैतिक काम भएको बताउनुभयो । ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्दछ, दुवै महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरूले आफैँ संशोधन गरेको प्रावधानलाई अहिले आएर प्रश्न गर्नु गैरजिम्मेवार कार्य हो’,  उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टीका निर्णयको अवज्ञा गर्नु र स्वेच्छाचारिता बढाउनु क्षम्य नहुने चेतावनी दिनुभयो। उहाँले पार्टी नेतृत्व र संगठन विरुद्ध आक्रमण बढिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेयता एमालेमाथि योजनाबद्ध रूपमा भ्रम र लाञ्छनाका राजनीति बढाइएको छ।’

उहाँका अनुसार विगतमा सरकारमा सहभागी गराउने माग राख्दै बालकोट पुग्नेहरू नै अहिले लोकप्रियताको नाममा एमालेलाई गाली गर्न अग्रपंक्तिमा देखिएको बताउनुभयो। उहाँले राजावादी, माओवादी र केही कांग्रेस समर्थकहरूबिच एमालेलाई कांग्रेसबाट अलग्याएर सत्ता समीकरण बनाउन चलखेल भइरहेको उल्लेख गर्नुभयो।

विधान महाधिवेशन भदौ २०–२२ गतेबिच हुने जानकारी दिँदै महासचिव पोखरेलले त्यसअघि कुनै नेताको नाममा कित्ताकाट नगर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘जतिबेला जे काम पर्छ, त्यही गर्नुहोस्, नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले बुझ्नुपर्छ।’

भेलामा महासचिव पोखरेलले हालै सम्पन्न जनसङ्गठनका महाधिवेशनबाट पारित दस्तावेजहरू साता दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिनुभयो। उहाँले भन्नुभयाे ‘पार्टी र जनस‌ंगठनबीचको दस्तावेजीय अन्तर तुलना गरेर अध्ययन गरिनेछ,सबैले जनतासँग जोडिने नीति अपनाउनु आवश्यक छ।’

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महाधिवेशनबाट पारित विषयमा पछि प्रश्न उठाउने सोच त्याग्न आग्रह गर्नुभयो। उहाँले  भन्नुभयो, ‘पार्टीका नीति, विधि र निर्णयमा तलवितल गरियो भने मात्रै नेता होइन्छ भन्ने मानसिकता त्याग्नुपर्छ।’

उहाँले केही जनसङ्गठन पदाधिकारीहरूमा पार्टीको निर्णय नमान्दा हुनेजस्तो सोच देखिएको भन्दै यस्तो प्रवृत्तिलाई गम्भीरतापूर्वक पार्टीले नोटिस गरेको जानकारी दिनुभयो।

भेलामा पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्यहरू राजेन्द्र गौतम, सीता पौडेल, थममाया थापा लगायतको उपस्थिति रहेको थियो। भेलालाई जनसङ्गठन समन्वय संयन्त्रका उपप्रमुख रचना खड्काले सम्बोधन गर्नुभयो भने मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले स्वागत गर्नुभयो।

भेलामा सहभागी सबै जनसङ्गठनका अध्यक्ष र पदाधिकारीहरूले आफ्ना संगठनका गतिविधिहरूको जानकारी गराउनुभएको थियो।

यसअघि एमालेले साउन ५ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको तयारी स्वरूप सातै प्रदेश, उपत्यका विशेष प्रदेश, जिल्ला तथा प्रवास कमिटीहरूलाई समेटेर छुट्टाछुट्टै बैठकहरू गरिसकेको छ। हिजोमात्र उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई महासचिव पोखरेलले निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो।