काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको शनिवार उद्घाटन गर्नुभएको छ । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल १० शैय्याको रहेको छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओली विभिन्न कार्यक्रमका शनिबार गृह जिल्ला झापा पुग्नुभएको हो । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।
उहाँलाई चन्द्रगढी विमानस्थलमा एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री शनिवार र आईतवार झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले बताउनुभयो । असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको गिरीले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्