जनता टाइम्स

२९ असार २०८२, आईतवार ०८:३२

छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु


काठमाडौं, २९ असार ।  कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन् ।कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उहाँलाई सर्पले डसेको थियो ।

स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । डीएसपी बोहराका अनुसार शुक्रबार राति साढे १२ बजेतिर कमलालाई सुतिरहेकै अवस्थामा बाँया गालामा सर्पले डसेको थियो ।

शनिबार साँझ ८ बजे उहाँको मृत्यु भएको डीएसपी बोहराले बताउनुभयो। उहाँलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताउनुभयो ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिनुभयो । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताउनुभयो ।