जनता टाइम्स

३० असार २०८२, सोमबार १६:३१

मध्यपश्चिम विश्वविद्यालयको १७ औँ सिटेन सम्पन्न, १ अर्ब ३६ करोड रुपैँया बजेट स्वीकृत


काठमाडौं, ३० असार । मध्यपश्चिम विश्वविद्यालयको १७ औँ विश्वविद्यालय परिषद् (सिनेट) बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु १ अर्ब ३६ करोड ७७ लाख २१ हजार बराबरको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न बैठकले आगामी वर्षका नीति, कार्यक्रम र बजेट पारित गरेको हो । बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले प्रस्तुत गर्नुभएको बजेट प्रस्तावमा पुँजीगत तर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजार विनियोजन गरिएको छ । यो बजेटले विश्वविद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, जनशक्ति उत्पादन र संस्थागत सुधारमा केन्द्रित रहने बताइएको छ ।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयको हालको प्रगति, चुनौती र भावी योजना प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको प्रभावकारी प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रवाहमा विश्वविद्यालय केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले ग्रामीण भेगका विद्यार्थीहरूलाई लक्षित गर्दै सीपमूलक तथा रोजगारीमुखी शिक्षा विस्तार गर्ने योजना सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकास, प्राज्ञिक स्वतन्त्रता र क्षेत्रीय सन्तुलनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विश्वविद्यालयहरूलाई सैद्धान्तिक शिक्षा मात्र होइन, व्यवहारिक ज्ञानमार्फत समाजको रूपान्तरणमा योगदान पुर्‍याउने खालको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालय नेपालको आठौँ सार्वजनिक विश्वविद्यालयका रूपमा २०६७ सालमा स्थापना भएको हो । सुर्खेतको वीरेन्द्रनगरमा मुख्य कार्यालय रहेको यस विश्वविद्यालय अन्तर्गत हाल १० वटा सङ्काय सञ्चालनमा छन् । विश्वविद्यालयले पछिल्लो समय प्रदेश स्तरमै उच्च शिक्षाको पहुँच विस्तारमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।