इलाम, ४ साउन । इलाममा हाल कुनै चुनावी माहौल छैन । अहिले भोट माग्ने समय पनि होइन। तर इलामका सांसद सुहाङ नेम्वाङ घरदैलोमा हुनुहुन्छ- चुनावी नारासहित होइन, नागरिकका समस्या सुन्ने मनोभावनासहित।
संघीय संसद् स्थगित भएको अवसरलाई सदुपयोग गर्दै सांसद नेम्वाङ आफ्नो गृहजिल्ला इलाम पुग्नुभएको छ। उहाँ यतिखेर इलामको विभिन्न गाउँ, टोल र बस्तीहरूमा पुगेर जनतासँग प्रत्यक्ष संवादमा हुनुहुन्छ। आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग घनिष्ठ र आत्मीय ढङ्गले भेटघाट गर्दै उहाँ समस्याको पहिचानमा जुट्नुभएको छ।
जनप्रतिनिधिमा प्रायः देखिने औपचारिकता र दूरीको विपरीत, सुहाङ नेम्वाङ सरल, शान्त र नम्र शैलीमा जनसामान्यसँग मिसिनुहुन्छ। उहाँको यही भद्र र सहज व्यवहारले उहाँ इलाम मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत लोकप्रिय बन्दै जानुभएको छ।
स्थानीय बासिन्दाका अनुसार, संसद् बन्द हुने बित्तिकै इलाम पुगेर गाउँ गाउँ डुल्ने यो उहाँको नियमित अभ्यास हो। हरेक पटक इलाम फर्किँदा नेम्वाङ आफ्ना मतदातामाझ कार्यक्रम, फोटो सेसन वा भाषण होइन, समस्या सुन्न र समाधानका उपाय खोज्नकै लागि पुग्नुहुन्छ । इलाम-२ का बासिन्दा भन्छन्, ‘उहाँले कहिल्यै आफैलाई ठूलो ठान्नुभएन, हामी जस्तासँगै बस्नुहुन्छ, अप्ठेराे-सजिलाे के छ साेध्नु हुन्छ, ध्यानपूर्वक हाम्रो कुरा सुन्छन्।’

स्थानीय समस्याको तथ्यगत अभिलेख राख्दै केन्द्रमा नीतिगत पहल गर्ने आफ्नो शैलीमा दृढ सांसद नेम्वाङले नागिरकका कुरा सुनेर, देखेर र बुझेर संसदमा प्रस्तुत हुनुहुन्छ । अन्य जनप्रतिनिधिहरूको तुलनामा बढी सम्पर्कमैत्री र सक्रिय देखिनु भएका नेम्वाङप्रति नागरिक अपेक्षा पनि उच्च बन्दै गएको छ। धेरैले उहाँमा एक अनुकरणीय नेतृत्वको झल्को देखेका छन्। ‘हामीलाई यिनै सुहाङ नेम्वाङ जस्तै जनप्रतिनिधि चाहिएको हो, जीवनभर यो पहिचान नछाड्नू है’, स्थानीय भन्छन् ।
राजनीतिमा विनम्रता, सतर्कता र संवादमुखी शैली कति प्रभावकारी हुन्छ भन्ने उदाहरण सांसद सुहाङ नेम्वाङ बन्नु भएकाे छ। चुनावको बेला मात्रै देखिने नेताहरूको भीडमा उहाँको यो व्यवहारले राजनीतिमा नवीन अभ्यासको सन्देश दिएको छ।













प्रतिक्रिया दिनुहोस्