जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार ११:०७

पप्पु कन्स्ट्रक्सनलाई झड्का, आयोजनाले तोडिदियो तीनकुने पुल बनाउने ठेक्का


काठमाडौं, कात्तिक २८

देशभरीका पुलमा झेली गरेको आरोप लागेको पप्पु कन्स्ट्रक्सनलाई राजधानीमा झड्का लागेको छ । तीनकुनेको नेटवर्क आर्क ब्रिज निर्माण गर्न नसकेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्का तोड्दै बैंक ग्यारेन्टी जफत गरिदिएको छ ।

पुल निर्माण गुणस्तरहीन भन्दाभन्दै पनि संसदीय समितिलाई समेत अटेरी गरी काम नरोकेपछि आयोजनाले ठेक्का तोडेको हो । आयोजनाका एक अधिकारीका अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर गुणस्तरहीन काम गरेपछि निर्माण रोक्न आयोजनाले मौखिक निर्देशन दिएको थियो । तर पप्पुले आयोजनाको निर्देशन लत्याउँदै निर्माण कार्य अघि बढायो । फर्मा बाँधेर पुलको ढलान गर्ने तयारी गरेपछि आयोजनाले तत्कालै काम रोक्न लिखित निर्देशन दिएको थियो । लिखित निर्देशन पाएपछि पप्पुले काम रोकेको थियो ।

निर्माणाधीन उक्त पुलमा जमिनमुनी २९ मिटर गहिराईका १६ वटा पाईल निर्माण गरिएको छ । ती पाईलहरु आयोजनाले टेष्ट गरेर हेर्दा एउटा पाईल १६ मिटर गहिरोसम्म मात्रै भेटिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिनुभयो । पाईलमा समस्या भेटिएपछि गुणस्तर र अन्य पक्षको परीक्षणका लागि पुल्चोक इन्जिनियर कलेजलाई जिम्मा दिईएको थियो । प्रतिवेदनमा पनि एउटा पाईल १६ मिटर मात्रै रहेको उल्लेख गरेको छ।

आयोजनाका अनुसार ठेक्का तोडेर सडक विभागलाई स्वीकृतिका लागि पठाईएको छ । केही दिनमै ठेक्का तोड्ने निर्णय स्वीकृत भएर आउने बताइएको छ । पुल निर्माणको जिम्मा २०७१ असारमा दिएर २०७५ असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने सम्झौंतामा थियो । तर, अहिलेसम्म २५ प्रतिशतपनि काम सकिएको छैन । यसैबीच यो पुलमा राखेको बैंक ग्यारेन्टी समेत जफत भएको छ । सर्वोच्चले आयोजनाको पक्षमा फैसला गरेपछि बैक ग्यारेण्टी जफत गरेको थियो । एउटा बैकबाट १ करोड ७५ लाख र अर्कोबाट ९२ लाख रुपैयाँ गरि २ करोड ६७ लाख रुपैयाँ जफत गरिएको आयोजनाका अधिकारीले जानकारी दिए ।