काठमाडौं, १३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दक्ष जनशक्ति र अस्पतालको क्षमता वृद्धिबाट मात्र गुणस्तरीय सेवा दिन सकिने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उहाँले अस्पतालको क्षमता वृद्धि नगरी गुणस्तरीय सेवा दिन नसकिने स्पष्ट पार्नुभयो । ‘जनशक्तिमा र अस्पतालमा क्षमता वृद्धि गर्नु नै नागरिकलाई सेवा पुर्याउनु हो’, उहाँले भन्नुभयो ।
अहिले स्वास्थ्यमा लगानी एकदमै कम रहेको बताउँदै उहाँले लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धिको लागि आफू मन्त्रिभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाउँदा पनि स्वीकृति नभएको उहाँले गुनासो गर्नुभयो । ‘अहिले स्वास्थ्यमा लगानी एकदमै कम छ, ०४८ सालदेखि यसमा लगानी नै भएको छैन, म मन्त्रिभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाइएको हो तर स्वीकृति नै भएको छैन, हामीले स्वास्थ्य संस्थाहरू जनशक्तिको हिसाबले पूर्ण क्षमताले चल्न सक्ने बनायौँ भने सङ्कट व्यवस्थापनमा ठुलो सहयोग पुर्याउन सक्छ’, उहाँले भन्नुभयो ।
उनले दक्ष जनशक्तिमा र अस्पतालमा क्षमता वृद्धि गर्नु नै नागरिकलाई सेवा पुर्याउनु भएको भन्दै प्रभावकारी सेवा प्रदानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नीतिगत स्पष्टता नहुँदा एउटा सरकार र अर्को सरकार बिच समन्वयात्मक भूमिकामा समस्या भएको पौडेलले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्