जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार १३:३६

केपी ओलीको नेतृत्वमा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रले विशेष फड्को मारेको छ : डा. सुमित्र गौतम


काठमाडौं, साउन १६ । वाग्मती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्र गौतमले केपी शर्मा ओलीको नेतृत्वमा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा विशेष फड्को मार्न सफल भएको बताउनुभएकाे छ ।

वाग्मती प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा तथा डिजिटल हेल्थ प्रणालीको शुभारम्भका अवसरमा शुत्ररबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सचिव गौतमले कोभिड महामारीको कठिन समयमा स्वास्थ्य पूर्वाधार सुदृढीकरणदेखि सेवा प्रवाहमा उल्लेख्य सुधार भएको स्मरण गर्नुभयो। ‘हजुरको नेतृत्वमा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रले विशेष फड्को मारेको छ’, गौतमले भन्नुभयो ।

कोभिडको संकटमा गरिएको तयारी र लगानी अहिले देशभर अनुभूत भइरहेको उहाँले बताउनुभयाे । सचिव गौतमले  प्रधानमन्त्री ओलीले प्रविधिको विकास र डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेकै कारण अहिले वाग्मती प्रदेशले ‘डिजिटल हेल्थ’ प्रणालीमा प्रवेश गर्न सकेको बताउनुभयाे । ‘वाग्मती प्रदेश डिजिटल युगमा प्रवेश गरेको छ’, उहाँले भन्नुभयो, ‘यसको श्रेय यहाँको दूरदर्शी नेतृत्वलाई जान्छ।’

गौतमले कार्यक्रमका क्रममा वाग्मती प्रदेशका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप उपलब्ध गराइसकेको बताउँदै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको जानकारी दिनुभयो। ‘वाग्मती प्रदेशमा अहिले कुनै पनि बालबालिका खोपबाट वञ्चित भएका छैनन् भन्ने सुनिश्चितता गरिएको छ’, उहाँले भन्नुभयो, ‘खोपका माध्यमबाट नियन्त्रण गर्न सकिने अधिकांश रोगहरू नियन्त्रणमा ल्याउन हामी सफल भएका छौँ।’

डिजिटल स्वास्थ्य अभियानले सुशासन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै गौतमले प्रदेशका ग्रामीण अस्पतालहरूमा टेलिमेडिसिन सेवा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। ‘डिजिटल वाग्मती अभियानअन्तर्गत अब अस्पतालका दैनिक गतिविधि मन्त्रालयमै बसेर अवलोकन गर्न सकिनेछ’, उहाँले भन्नुभयो, ‘यसले पारदर्शिता, जबाफदेहिता र जनमैत्री सेवा प्रवाहमा सहयाेग गर्ने छ।’

उहाँले प्रदेश सरकारले आफ्नै स्रोतबाट आयुर्वेदिक औषधि उत्पादन सुरु गरिसकेको र प्रादेशिक अस्पतालहरूमा सेवा विस्तार पनि क्रमशः अगाडि बढिरहेको बताउनुभयो। ‘जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा सबै अस्पतालहरूबाट प्रवाह गरिनेछ’, सचिव गौतमले भन्नुभयो।

उहाँले प्रधानमन्त्री केपी ओलीको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको प्रशंसा पनि गर्नुभयो । यसको लागि उहाँले प्रधानमन्त्री ओली प्रति आभार व्यक्त गर्नुभयो ।