काठमाडौं, १६ साउन । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका परिकल्पनाकारको रूपमा चित्रण गर्नुभएको छ ।
शुक्रबार भक्तपुरमा आयोजित वाग्मती प्रदेश पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ प्रणाली शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री थापाले भन्नुभयो, ‘उहाँकै नेतृत्वमा नेपाल समृद्धिको यात्रामा अघि बढिरहेको छ ।’
कार्यक्रममा बोल्दै मन्त्री थापाले वाग्मती प्रदेश पूर्णखोपयुक्त प्रदेश बनेको र यस उपलब्धिमा सबैभन्दा ठुलो योगदान सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रहेको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीप्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले वाग्मती प्रदेश पूर्णखाप भएकाे प्रदेश र डिजिटल हेल्थ प्रणाली शुभारम्भ भएकाे घाेषणा गर्नु भएकाे थियाे ।
स्वास्थ्य सेवा प्रवाह अझ प्रभावकारी बनाउन सुरु गरिएको डिजिटल हेल्थ प्रणालीबारे जानकारी दिँदै मन्त्री थापाले भन्नुभयो, ‘अब सहरका अस्पतालका विज्ञ डाक्टरले गाउँका दुर्गम अस्पतालमा इन्टरनेटबाट सेवा दिन सक्छन्, मोबाइलबाट नै घरमा बसेर आफूले उपचार लिने कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी लिन पनि सकिन्छ ।’

प्रदेश सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित आफ्नै औषधि कारखाना स्थापना गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘सरकारले निःशुल्क उपलब्ध गराउने २३ मध्ये २१ प्रकारका औषधि अब वाग्मती प्रदेश सरकारले आफैँ उत्पादन गर्छ ।’
मन्त्री थापाले आयुर्वेदिक चिकित्सा प्रणालीलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार वाग्मती प्रदेशका २ जिल्लामा १६ बेड क्षमताका आयुर्वेदिक अस्पताल सुरु भइसकेका र बाँकी जिल्लामा पनि अस्पताल सञ्चालन हुने बताउनुभयो । ‘एलोपेथिक मात्र होइन, अब हामीले आयुर्वेदिक उपचारलाई पनि प्राथमिकीकरणमा राखेका छौँ,’ उहाँको भनाइ थियो ।

क्यान्सर पीडितका लागि प्रदेश सरकारले अब एक लाख रुपैयाँ सहयोग गर्ने उहाँले बताउनुभयो । त्यस्तै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम राखिएको थापाले जानकारी दिनुभयो ।
योग, ध्यान र प्राणायामलाई वैज्ञानिक ढङ्गले अभ्यासमा ल्याउनका लागि योग गुरुहरूलाई तालिम दिने योजना रहेको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा प्रवाहलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन ‘एक जिल्ला–एक नमुना पालिका’ र ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ को अवधारणा प्रदेश सरकारले अघि सारेको पनि उहाँको भनाइ थियो ।
वाग्मती प्रदेश सरकारको यस नयाँ रणनीतिक पहलसँगै प्रदेशस्तरीय स्वास्थ्य प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्