जनता टाइम्स

१८ श्रावण २०८२, आईतवार ०८:५०

म्याट्रिक्स फाइट नाइटमा पहिलो पटक नेपाललाई उपाधि दिलाउने रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीले दिनुभयो बधाई 


काठमाडौं, साउन १८ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।

आइतबार नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिनुभएको हो । ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ,पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई’, प्रधानमन्त्रीले लेख्नु भएको छ ।

भारतीय फाइटर चाेंनरेंङ कोरेनलाई पराजित गर्दै ढाँटले च्याम्पियनसिप टाइटल जित्नु भएको हो । यो जितसँगै उहाँ एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।

यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ  । उहाँले कोरेनको पाँच खेलको जित यात्रा तोड्नु भएको छ ।