हेटौँडा, साउन २० । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पुनः पदभार ग्रहण गरेको केही घण्टामा नै तीनवटा महत्त्वपूर्ण निर्णय गर्दै डिजिटल स्वास्थ्य प्रणालीतर्फको मार्ग खुला गर्नुभएको छ।
मंगलबार इन्द्रबहादुर बानियाँ नेतृत्वमा पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (E-Office) मार्फत तीन निर्णय सार्वजनिक गर्नुभएको हो। तीमध्ये पहिलो निर्णय विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली (E-Health Emergency Response System) विकास गर्ने सम्बन्धमा रहेको छ।
स्वास्थ्य सेवा प्रणालीलाई अझ छरितो, व्यवस्थित र प्रभावकारी बनाउन यो प्रणालीले सहयोग गर्ने विश्वास मन्त्री थापाले व्यक्त गर्नुभएको छ। ‘अस्पताल सेवा सुधार र आपतकालीन अवस्थाको तत्काल प्रतिकार्यका लागि यस प्रणाली विकास अत्यावश्यक छ,’ उहाँले भन्नुभयो।
त्यस्तै, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको समन्वय र व्यवस्थापन गर्न ‘जिपिएस प्रणाली’ जडान गर्ने निर्णय गरिएको छ। यसले गाडी प्रयोगको पारदर्शिता, निगरानी र आपतकालीन सेवाको प्रभावकारिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
तेस्रो निर्णयका रूपमा प्रदेशभर सञ्चालनमा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा इलेकट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली लागू गर्ने घोषणा गरिएको छ। यसबाट बिरामीको उपचार विवरण डिजिटल रूपमा सुरक्षित राखिने, सेवामा नियमितता कायम हुने र चिकित्सकको सेवा प्रक्रिया पनि सरल बनाउने विश्वास गरिएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यी निर्णयहरू डिजिटल स्वास्थ्य प्रणाली रूपान्तरणतर्फको ऐतिहासिक कदम भएका बताउनुभयाे । यी योजनालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना तय गरिएको छ।
मन्त्री थापा यसअघि २०८१ साउन ९ गते पनि स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो। गठबन्धन परिवर्तनसँगै पदबाट बाहिर रहनुभएका थापाले नयाँ गठित मन्त्रीपरिषद्मा पुनः नियुक्त भई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।
मन्त्रालयले प्रदेशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी आवश्यक पूर्वाधार निर्माण र जनशक्ति तालिमको प्रक्रिया समेत अगाडि बढाउने जनाएको छ ।
एलाेपेथिक उपचारसँग आयुर्वेदिक उपचारलाई पनि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएको छ । मन्त्रालयले योग, ध्यान, प्रणयमालाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेशका सबै जिल्लमा आयुर्वेदिक अस्पताल सञ्चालनको प्रक्रिया अघि बढेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि कारखाना स्थापना भई उत्पादन समेत सुरु गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्