जनता टाइम्स

२१ श्रावण २०८२, बुधबार २२:३७

स्तनपान सप्ताहको अवसरमा रामेछापमा सचेतनामूलक कार्यक्रम 


रामेछाप, २१ साउन । स्तनपान सप्ताहको अवसरमा रामेछापमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा रामेछाप जिल्ला अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा कार्यक्रम भएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विवेककुमार झाले कार्यक्रम आयोजनाको उद्देश्य बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्दै झाले मोटा भन्दा स्वास्थ्य बच्चा राम्रा हुने बताउँदै बच्चालाई स्वास्थ्य बनाउन कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्ने बताउनुभयो । सोही विषयमा दूध खुवाउने आमाहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले नेपालमा ५४ प्रतिशत आमाहरूले मात्र ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउने गरेको पाइएको झाले सुनाउनुभयो ।

कार्यक्रमका बाल रोग विशेषज्ञ डा. नीरज श्रेष्ठले आमाको बच्चा जन्माएको एक घण्टा पछि खुवाउने पहेँलो दूध बच्चाको लागि औषधि नै हुने बताउनुभयो । त्यसैले त्यस्तो दूध नफाल्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बच्चालाई दूध खुवाउने तरिका, दूध खुवाउँदा ध्यान दिनु पर्ने कुरा, बच्चालाई राख्ने र सुताउने तरिका लगायतका विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा महिलाहरुलाई दूग्धवर्धक आयुर्वेदिक औषधि पनि वितरण गरिएकाे थियाे ।