रुपन्देही, साउन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाबाट रोजगारीको सुनिश्चितता हुने भएकाले शिक्षालयहरूले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भएको छ ।
कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारातर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सक्ने वातावरण निर्माणमा शिक्षालयहरूको भूमिका अझ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । ‘प्राविधिक विषय अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘कोही रोजगारीमा जान्छन्, कोही आफैँ उद्यम सुरु गर्छन्, सिपयुक्त व्यक्ति कहिल्यै भौतारिरहनु पर्दैन, ऊ जुनसुकै ठाउँमा भए पनि पेसा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुन्छ।’
शिक्षालयहरूमा अध्यापन गराइने विषयवस्तु र त्यसबाट प्राप्त उपलब्धिबारे व्यापक प्रचारप्रसार गर्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यको जोड छ । ‘हामीले गरेका कामबारे जनतालाई जानकारी दिन जरुरी छ, विद्यार्थीलाई आकर्षित गर्न प्रचारप्रसार प्रमुख माध्यम हो,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै सोहीअनुरूप शिक्षालयहरूले पनि आफ्नो शैक्षिक कार्यक्रमलाई तीव्र बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिक्षालयका प्रमुख नवीन किशोर गैह्रेका अनुसार पछिल्ला वर्षहरूमा शिक्षालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ। उहाँले विद्यार्थीलाई आकर्षित गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्न थालिएको जानकारी गराउनुभयो ।
शिक्षालयका विद्यार्थीहरूले प्रायोगिक कक्षाहरूमा दैनिक जीवनमा प्रयोग हुने औजार र उपकरणहरू निर्माण गर्दै आएका छन्। निरीक्षणका क्रममा दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने यन्त्र लगायतका सामाग्रीहरूको निर्माणबारे जानकारी गराइएको थियो।
मुख्यमन्त्री आचार्यले शिक्षालयको अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीको रुचिअनुसार नयाँ विषय थप गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे ।
शिक्षालयमा विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यान्त्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङ लगायतका विषयमा दीर्घकालीन अध्ययन कार्यक्रमहरू सञ्चालित छन्।













प्रतिक्रिया दिनुहोस्