जनता टाइम्स

२ भाद्र २०८२, सोमबार २०:४५

दुर्गमका स्वास्थ्य संस्थालाई सबल बनाउँदै वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, उपकरण र जनशक्ति पठाउँदै 


काठमाडौं, भदाै २। वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले ग्रामीण भेगका जनताको स्वास्थ्य सुरक्षालाई  उच्च प्राथमिकतामा राखेर काम गर्न लाग्नु भएको छ।

त्यसको लागि स्वास्थ्य संस्थाहरूलाई आवश्यक उपकरण उपलब्ध गराउने अभियान प्रदेश स्वास्थ्य मन्त्रालयले सुरु गरेको छ । मन्त्री थापाले दूरदराजका नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा सुनिश्चित नगरी प्रदेशको स्वास्थ्य क्षेत्रमा रूपान्तरण सम्भव नहुने भन्दै स्वास्थ्य उपकरणलाई पहिलो प्राथमिकतामा राख्ने नीति अघि सार्नुभएको हो।

यसै क्रममा सोमबार उहाँले सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्नु भएको छ । उहाँले गाउँपालिका अध्यक्ष टासी लामालाई अल्ट्रासाउन्ड मेसिन, ईसीजी मेसिन र विभिन्न औषधि हस्तान्तरण गर्नुभयो। मन्त्री थापाले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा ती उपकरण हस्तान्तरण गर्दै ग्रामीण जनतालाई गुणस्तरीय उपचार सेवामा पहुँच पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

प्रदेश सरकारको योजनाअनुसार आगामी दिनमा पनि ग्रामीण भेगका अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई प्राथमिकताका आधारमा अत्यावश्यक उपकरण उपलब्ध गराइनेछ। ‘सहरमा मात्र स्वास्थ्य सेवा दिएर पुग्दैन, स्वास्थ्य सेवा पहुँचको अधिकार सबै नागरिकलाई समान रूपमा सुनिश्चित गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

यसअघि पनि प्रदेश स्वास्थ्य मन्त्रालयले विभिन्न दुर्गम गाउँका स्वास्थ्य चौकीहरूमा प्रयोग हुने सामग्री तथा जनशक्ति उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएको असमानतालाई न्यूनीकरण गर्दै ग्रामीण भूगोलका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।