हेटौँडा, भदौ ३ ।वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मङ्गलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रम तथा पूर्वाधारहरूको विस्तृत अवलोकन गर्नुभएको छ ।
मन्त्री थापाले प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेका नलेज भिलेज, गौरीटार, हुप्रचौरका कक्षासँगै अनुसन्धान केन्द्रको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको हो । अनुगमनपछि उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएका आधारभूत अस्पतालहरूको निर्माण कार्य पूरा भइसकेको उल्लेख गर्दै ती अस्पतालमा आवश्यक दक्ष जनशक्ति यसै प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा मन्त्री थापाले छोटो अवधिमै प्रतिष्ठानले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै यसलाई थप संस्थागत बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले नयाँ भवनको निर्माण छिटो सम्पन्न गरी आफ्नै पूर्वाधारबाट कक्षा सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबिबिएस (MBBS) कार्यक्रम सञ्चालन गर्ने अनुमति प्रदान गरिसकेको छ । यसअघि नै प्रतिष्ठानमा बिएस्सी नर्सिङ (BSc Nursing), मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) कार्यक्रम सञ्चालनमा रहेका छन् ।
त्यसै गरी, यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तह (MD) अन्तर्गत स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजी विषयमा अध्यापन सुरु हुने भएको छ ।

अनुगमन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेशकुमार लम्साललगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्