काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले कृषि मात्र नभई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको बताएका छन् ।
भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको संयुक्त आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै उनले बैंकले ऋण प्रवाहलाई विविधिकृत गर्ने रणनीति अघि बढाएको उल्लेख गरे ।
उनका अनुसार अटोमोबाइल क्षेत्रमा प्रवाह गरिएको कर्जामा अन्य क्षेत्रको तुलनामा खराब कर्जा न्यून देखिएको छ । “कृषि हाम्रो प्राथमिकता हो, तर अटोमोबाइल्स क्षेत्रमा पनि लगानी गरिरहेका छौं । यहाँ खराब कर्जा कम देखिन्छ,” गुरुङले भने ।
उनले बैंकहरुले कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको दृष्टिकोण, ब्रान्डको विश्वसनीयता तथा सर्भिस सुविधासम्मको मूल्याङ्कन गर्ने जानकारी दिए । व्यावसायिक सवारी साधनमा लगानी गर्दा बढी जोखिम रहने भए पनि निजी गाडी कर्जामा धितोको आधारमा सुरक्षित हुने उनको भनाइ छ ।
साथै, ‘लोन टु भ्यालु रेसियो’ प्रत्येक देशको आर्थिक संरचना अनुसार फरक हुने र नेपालमा पनि व्यावसायिक तथा निजी गाडी कर्जामा यसमा भिन्नता रहने बताए ।













प्रतिक्रिया दिनुहोस्