जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार २२:०२

वाग्मती प्रदेशको स्वास्थ्य सेवामा क्रमशः सुधार : स्वास्थ्य मन्त्री किरण थापा


काठमाडाैं, भदौ ६ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले वाग्मती प्रदेश रकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग मध्यपुर थिमी शाखाद्वारा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम मा बोल्दै मन्त्री थापाले वाग्मती प्रदेशका १३ जिल्लामा सञ्चालन भइरहेका प्रादेशिक अस्पतालहरूको सेवा–सुविधा र गुणस्तरमा निरन्तर सुधार भइरहेको बताउनुभयो । ‘नेपाल सरकारले ९८ प्रकारका औषधी बिरामीलाई निःशुल्क उपलब्ध गराइरहेको छ भने प्रदेश सरकारले थप ५६ प्रकारका औषधी निःशुल्क वितरण गरिरहेको छ, यसले आम नागरिकलाई ठुलो राहत पुगेको छ’, उहाँले भन्नुभयो ।

भक्तपुर जिल्लामा सामुदायिक र निजी गरी १७ वटा अस्पताल सञ्चालनमा रहेकाले भक्तपुरलाई सम्पूर्ण स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउँदै ‘स्वास्थ्य क्षेत्रको हब’ बनाइने लक्ष्य रहेको उहाँले बताउनुभयो । भक्तपुर अस्पताललाई प्रदेशकै उत्कृष्ट सेवा प्रदायक अस्पतालको रूपमा विकास गरिएको जानकारी दिँदै मन्त्री थापाले आफूले व्यक्तिगत रूपमा हालसम्म ६१ पटक रक्तदान गरिसकेको अनुभव पनि सुनाउनुभयो ।

कार्यक्रम ब्रह्मकुमारी राजयोग सेवा केन्द्र थिमीकी प्रमुख ब्रह्मकुमारी तिमिलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रका ब्रह्मकुमार सुरेन्द्रले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रष्ट पार्दै भदौ ६ देखि ९ गतेसम्म नेपालभर रक्तदान अभियान सञ्चालन गरिएको जानकारी दिए ।

सो कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य शकुन्तला श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका–४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठलगायतका वक्ताहरूले ब्रह्मकुमारी राजयोगले समाजमा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्नुभयो ।

शंखधर चोकस्थित भाःफल्चा परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा १८ पुरुष र ५ महिला गरी २३ जनाले रक्तदान गरेका थिए । केन्द्रका संरक्षक भुवनचरण श्रेष्ठका अनुसार राजयोगिनी दादी प्रकाशमणिको १८ औँ पुण्यतिथि स्मरणार्थ मुलुकभर १ सय घण्टाभित्र १ लाख पिन्ट रगत सङ्कलन गर्ने लक्ष्यसहित ४ दिनसम्म निरन्तर रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ ।