जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १३:४२

 गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रदेश सरकार प्रतिबद्ध : किरण थापा


काठमाडौं, भदौ १० । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुढानीलकण्ठ नगर अस्पताललाई थप गुणस्तरीय र दिगो स्वास्थ्य सेवाको केन्द्र बनाउन प्रदेश सरकार पूर्ण रूपमा सहयोगी रहने प्रतिबद्धता जनाउनुभएको छ ।

बुढानीलकण्ठ नगर अस्पतालमा म‌ंगलबार भएको समसामयिक छलफल कार्यक्रममा मन्त्री थापाले अस्पतालले भोगिरहेको सेवा प्रवाहका चुनौती, पूर्वाधार अभाव र जनशक्ति कमीलाई समाधान गर्न ठोस कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो । अस्पतालको निरीक्षण पछि भएको छलफलमा मन्त्री थापाले अस्पतालकाे सुदृढीकरणकाे लागि सक्दो सहयाेग गर्ने बताउनुभयो । ‘नगरवासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार यहाँको अस्पताल सुदृढीकरणमा अग्रसर हुन्छ, थापाले भन्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । छलफलमा अस्पताल सुधार, जनशक्ति व्यवस्थापन र आधारभूत पूर्वाधार विस्तारका विषयमा सुझाव र प्रस्तावहरू प्रस्तुत भएका थिए ।

संवादले अस्पताल सुधार र दिगो स्वास्थ्य सेवाका लागि ठोस कार्ययोजना बनाउन आवश्यक आधार तय गरेको आयोजकले जनाएको छ ।