हेटौँडा, भदाै १० । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरले हरितालिका तीजको अवसर पारेर मंगलबार हेटौँडा–४ स्थित पशुपति मन्दिर परिसरमा हेल्थ डेस्क सञ्चालन गरेको छ।
तीजको व्रत बसेर पूजाआजा गर्ने महिलालाई लक्षित गरी सञ्चालन गरिएको हेल्थ डेस्कमार्फत निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण सेवा प्रदान गरिएको महासंघले जनाएको छ।
बिहान ७:३० बजेबाट सुरु भई दिउँसो २ बजेसम्म सञ्चालन गरिएको डेस्कमार्फत सुगर, रक्तचाप (प्रेसर) जाँच र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो। व्रतको दिन खाली पेट बस्दा स्वास्थ्यमा समस्या देखिने सम्भावना उच्च हुने भएकाले यस पटक पनि विशेष तयारीसहित डेस्क सञ्चालन गरिएको महासंघले बताएको छ।

कार्यक्रममा जम्मा २६७ जनाले स्वास्थ्य सेवा लिएको महासंघ मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार, ‘तीजमा महिलाहरू लामो समयसम्म उपवास बस्ने हुँदा स्वास्थ्यमा असहजता आउन सक्छ। त्यसलाई ध्यानमा राखेर हरेक वर्ष हामीले यस्तो हेल्थ डेस्क सञ्चालन गर्दै आएका छौँ।’

हेल्थ डेस्कमा बागमती प्रदेश सचिव सुशील आचार्य, जिल्ला उपाध्यक्ष लक्ष्मी पौडेल र सानी मोक्तान, हेटौँडा नगर अध्यक्ष कुसुम श्रेष्ठसहित अन्य स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।













प्रतिक्रिया दिनुहोस्