जनता टाइम्स

११ भाद्र २०८२, बुधबार ०९:०५

रामेछापमा ‘जेहनदार छात्रा शिक्षा हातेमालो’ कार्यक्रम : ८३ छात्रालाई छात्रवृत्ति वितरण


रामेछाप, भदौ ११ । मन्थली नगरपालिका–१ सानीमदौ निवासी शिक्षाप्रेमी तथा समाजसेवी श्री तेजप्रसाद सुवेदी (श्याम सुवेदी) परिवारले विगत १० वर्षदेखि सुचारु गर्दै आउनुभएका जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गत यस वर्ष ८३ छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ।

उक्त कार्यक्रम मार्फत मन्थली नगरपालिका तथा लिखु तामाकोसी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका जेहनदार, गरिब, विपन्न तथा दलित परिवारका छात्राहरूमाझ नगद तथा शैक्षिक सामग्री वितरण गरिएको छ। सो कार्यक्रम सोमबार मन्थलीस्थित औपचारिक समारोहमार्फत सम्पन्न भएको हो।

छात्रवृत्ति पाउनेहरूमा सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना, तामाकोसी क्याम्पस खिम्तीका १२ जना, भैरवी माध्यमिक विद्यालय सुनारपानीका १० जना, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकका १० जना, सेतीदेवी माध्यमिक विद्यालय सालुका १० जना र मन्थली माध्यमिक विद्यालय मन्थलीका ३५ जना छात्राहरू रहेका छन् ।

नगद छात्रवृत्तिअन्तर्गत सहिद स्मृति क्याम्पसका २ जना र तामाकोसी क्याम्पसका ४ जना छात्राले १८ हजार रुपैँयासहित ट्रयाकसुट, झोला र कलम, भैरवी, सिद्धेश्वर, सेतीदेवी र मन्थली माध्यमिक विद्यालयका २५ जना छात्राले १० हजार रुपैयाँसहित शैक्षिक सामग्री प्राप्त गर्नुभएको छ। बाँकी ५८ जना छात्राहरूले शैक्षिक सामग्री पाउनुभएको छ। कुल नगद र सामग्रीको मूल्य ११ लाख रुपैयाँ रहेको दाता सुवेदीले जानकारी दिनुभएको छ। सुवेदीले भन्नुभयो, ‘शिक्षामा लगानी गर्नु नै देशको दीगो विकासमा योगदान हो, आर्थिक अभावले पढाइमा निरन्तरता दिन नसक्ने छात्राहरूमाझ सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो, शिक्षा उज्यालो भविष्यको आधार हो, त्यसैले सकेसम्म सहयोग गर्दै आएका छौँ, उहाँले भन्नुभयाे ।

सुवेदी परिवारले छात्रवृत्ति लिन आउनुभएका छात्र–छात्राहरूको आउन–जानको गाडी र खाजाको व्यवस्थासमेत गरिदिनुभएको थियो।