हेटाैंडा, भदाै १२। वाग्मती प्रदेश सरकारले सिन्धुली जिल्लाको गोलञ्जाेर गाउँपालिकास्थित गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
प्रदेश सरकारले उपलब्ध गराएको सामग्रीहरूमा इसिजी मेसिन, बाइनोकुलर, प्यासेन्ट मोनिटर, इएनटी उपकरण र विभिन्न आवश्यक औषधिहरू रहेका छन्। गोलञ्जाेर गाउँपालिकाका अध्यक्ष शङ्करराज बराललाई वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले ती सामग्री हस्तान्तरण गर्नुभएको हो।
अस्पतालका लागि प्रदान गरिएका सामग्रीहरूले उपचार सेवामा थप सहजता ल्याउने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो। प्रदेश सरकार स्वास्थ्य सेवा सुधार र विस्तारमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष बरालले प्रदेश सरकारको सहयोगले स्थानीयवासीले नजिकमै गुणस्तरीय उपचार सेवा पाउने वातावरण बन्दै गएको बताउनुभयो। उहाँले प्राप्त सामाग्रीको उचित सदुपयोग गर्दै सेवा प्रवाह गरिने स्पष्ट पार्नुभयो ।
यसअघि आधारभूत स्वास्थ्य सेवा मात्र प्रदान गर्दै आएको गोलञ्जाेर अस्पतालमा आवश्यक उपकरण र औषधि अभावका कारण बिरामीले कठिनाइ भोग्नुपरेको थियो। नयाँ उपकरण तथा औषधिहरू उपलब्ध भएपछि आकस्मिक उपचारदेखि नियमित सेवा सहज हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्