रामेछाप,भदाै १३ । सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु भएको छ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केयर ब्लाइन्डनेस प्रोजेक्ट, पीएसएफ लक्जेम्बर्गको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले सञ्चालन गरेको महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ सुधार परियोजना र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएका प्राथमिक स्वास्थ्य शिविरबाट छनोट भएका बिरामीको मोतियाबिन्दु शल्यक्रिया भइरहेको छ। शिविर आज र भोलि दुई दिनसम्म चल्नेछ।
सामुदायिक विकास समाज मन्थलीका निर्देशक मिलनकुमार घिसिङका अनुसार गाउँ-गाउँमा पुगेका छनोट टोलीले सर्जरी आवश्यक बिरामी पहिचान गरी मन्थली ल्याइएको हो। ‘ खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीहरूको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ घिसिङले बताए।
आयोजक संस्थाले छनोट भएका बिरामीलाई घरदेखि ल्याएर उपचारपछि पुनः घरसम्म पुर्याउने व्यवस्था समेत मिलाएको छ। यसरी सञ्चालन हुने आँखा शिविरलाई सामुदायिक विकास समाजले नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ।
शिविरमा एक सयभन्दा बढी बिरामीको मोतियाबिन्दु सर्जरी हुने अनुमान गरिएको आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्