जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १९:१४

भारतीय मिडियामा भाइरल बन्यो प्रधानमन्त्री ओलीको भाषण : दिल्ली नै तरंगित बनेको आयो यस्तो संकेत


काठमाडौं, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय सञ्चारमाध्यममा छाउनु भएको छ । नेपाली भुमिबाट भारतीय सेना हटाउनु पर्ने प्रधानमन्त्री ओलीको अभिब्यक्तिपछि भारतीय सञ्चारमाध्यममा भाइरल बनेर नेपालका प्रधानमन्त्री पहिलो पटक छाउनु भएको हो । नेकपा भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इन्च जमिन नछोड्ने घोषणा गरेपछि भारतीय मिडियामा उहाँ हटकेक बन्नुभएको हो ।

सन् १९६२ देखि आफ्नो कब्जामा लिएको नेपालको भूमि कालापानी क्षेत्रमा रहेको भारतीय सेनालाई फिर्ता जान भन्दै गरेको प्रधानमन्त्री ओलीले लिनुभएको राष्ट्रवादी अडानले नयाँदिल्ली तरंगित बनेको हो । भारतीय सञ्चार माध्यमको प्रस्तुत अनुसार नेपाली भुमि छाडनु पर्छ भन्ने प्रधानमन्त्री ओलीको दृढ अडानले भारत सरकारसमेत निकं तरंगित बन्दै अव नेपाली भुमिमा आफ्नो सेना राखिरहन संभव नरहेको निश्कर्षतिर पुग्न थालेको देखिएको छ । भारतीय मिडियामा प्रधानमन्त्री ओलीको हवाला दिँदै पछिल्लो समय भारतले जारि गरेको नक्सालाई रद्दीको कागजको संज्ञा दिएको मानिएको छ ।

प्रधानमन्त्री ओलीले नक्सा जसले पनि छाप्न सक्ने तर नेपालको एक इन्च जमिन पनि कसैले लिन नसक्ने वा कसैलाई नदिइने घोषणा गर्नुले भारतीय शासकको नेपालमाथि अतिक्रमण जारी राख्ने नियतमा धक्का पुगेको महसुस गरेका छन् । भारतीय सुरक्षा बललाई कालापानीबाट हटाइने र नेपालको माटोको सुरक्षा गरिने प्रधानमन्त्री ओलीको घोषणाले भारतीय मिडिया र प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनलाई नराम्रोसँग पोलेको मान्न सकिन्छ । नेपालले भारतीय राजनीतिको आन्तरिक समस्यालाई नस्वीकार्ने मात्र होइन, उनीहरूले कश्मीरको अस्तित्वलाई नयाँ ढंगले प्रस्तुत गर्दै जारी गरिएको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको जमिन अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने प्रधानमन्त्री ओलीको प्रष्ट धारणासँगै भारतीय सत्ताको नियत मिडियामा छरपष्ट भएको छ ।

नेपालका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण समेत प्रधानमन्त्रीको घोषणाले अत्यन्त खुसी भएको भारतीय मिडियाको बुझाई छ, जसले उनीहरूलाई नेपालको अतिक्रमित भू–भाग बाट पछाडी हट्न बाध्य बनाउने छ । आइतबार राजधानीमा आयोजित युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान दिल्लीलाई प्रष्ट सन्देश दिनुभएको थियो । ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, कतिपयले नक्सा सच्याउनु पर्यो भनेका छन, नक्सा त अहिले भर्खरै सच्याउन सकिन्छ, हामी छाप्न सक्छौं, मुख्य कुरा हाम्रो भुमिको रक्षा हो, नक्सा सच्याउने मात्र होइन, सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन, हामीलाई अरूको जमिन पनि चाहिँदैन ।’

भारतीय अतिक्रमणविरूद्धको प्रधानमन्त्री ओलीको यो दृढ अडानले भारतीय मिडियामा समेत मुख्य प्राथमिकता पाएको हो । बिबिसी हिन्दी सेवाले ‘भारतसँगको कालापानी विवादबारे बोले नेपाली प्रधानमन्त्री : एक इन्च जमिन पनि मिल्ने छैन’ भन्ने शीर्षकमा मुख्य प्राथमिकताका साथ समाचार छापेको छ । यस्तै इन्डियन एक्प्रेसले ‘नक्सा विवाद : नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षक मा समाचार छापेको छ ।

अन्य पत्रिकाले पनि यस्तै प्राथमिकताका साथ समाचार दिएका छन । डिजिटल पत्रिका स्क्रोलको समाचारको शीर्षक छ, सीमा विवाद : कालापानी क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न नेपाली प्रधानमन्त्रीको आग्रह ।
यस्तै आजतकले प्रधानमन्त्रीको भनाइलाई रवाफको संज्ञा दिएको छ । उसको समाचारको शीर्षक बनाएको छ, कालापानी विवादमा नेपाली प्रधानमन्त्रीले भारतलाई देखाए रवाफ–एक इञ्च जमिन पनि दिन्नौं ।

भारतका झण्डै तीन दर्जन पत्रिका र डिजिटल पत्रिकाले प्रधानमन्त्री ओलीको भनाईलाई मुख्य सामाचारको स्थान दिएको छ ।