काठमाडौं, मंसिर ३
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल आज दिउँसो नेपाली समय अनुसार पौने तीन बजे सुरु हुनेछ ।
छनोटको लागि आशा जिवित राख्न नेपालले आजको खेलबाट अंक हासिल गर्नुपर्ने बाध्यता रहेको छ । नेपाली टिम आफ्ना महत्वपूर्ण चार खेलाडी बिना मैदान उत्रदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो । चारै जना ‘नाइट क्लब’मा नियमविपरित गएको भन्दै एन्फाले कुवेतविरुद्धको टिमबाट बर्खास्त गरेको थियो ।
नेपालले छनोटमा सुरुवातीमा चार वटै अवे म्याच खेलिसकेको छ । जसमा नेपालले ३ खेलमा हार र १ खेलमा जित निकालेको छ । पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५–० र चौथो खेलमा जोर्डनले ३–० ले हराएका थिए । नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ । कुवेत ४ खेलबाट ७ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । अघिल्लो खेलमा कुवेतले चाइनिज ताइपेईलाई ९–१ गोलले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्