हेटौँडा, भदाै १६ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो । नियुक्तिपछि मन्त्री थापाले हेटौँडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै, डा. सापकोटा जस्तो अनुभवी चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरणमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
चितवनबासी डा. सापकोटा हालसम्म हेटौँडा अस्पतालमा कार्यवाहक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस र त्रिभुवन विश्वविद्यालय, महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट स्नातकोत्तर (एमएस, अर्थोपेडिक्स) अध्ययन पूरा गर्नुभएका उहाँले दशकौँदेखि अर्थोपेडिक सर्जनका रूपमा सेवा दिँदै आउनुभएको छ ।

नव नियुक्त निर्देशकले पद तथा गोपनियताको सपथ उपकुलपति डा. प्रदिप ज्ञवालीबाट ग्रहण गर्नुभएको छ । सपथपछि उहाँले अस्पताललाई सेवा, शिक्षा र बिरामीमैत्री वातावरणमा उत्कृष्ट बनाउन प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ,’ उहाँले भन्नुभयो ।
सपथग्रहण तथा नियुक्ति कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे, डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्राध्यापक सुपेन्द्र कार्की, प्रशासन प्रमुख अमर अधिकारीलगायतको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्