जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १५:४९

वाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी काम भएको छ : किरण थापा मगर 


काठमाडौं, भदौ १९ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले आफ्नो कार्यकालमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरेको दाबी गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसका अवसरमा भक्तपुरमा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा मगरले प्रादेशिक अस्पतालहरूको सुधार तथा सेवामा वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले मन्त्री भएको एक वर्षभित्र अधिकांश प्रादेशिक अस्पतालहरूको सुधार र सेवा थपका लागि काम गरेको छु ।’

मन्त्री थापाले अन्य सेवासँगै मिर्गौला रोगीहरूको उपचारमा  समेत सुविधा विस्तार भएको जानकारी दिनुभयो । दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायतका जिल्लाका बिरामीले अब सम्बन्धित जिल्लामै डायलिसिस सेवा पाउने वातावरण बनेको उहाँको भनाइ छ ।

कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले मन्त्रालयको अनुभव नयाँ भए पनि प्रदेशको पर्यटन विकासका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्नु मेरो मुख्य एजेन्डा हो,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति पशुराम पाण्डेले संस्थाको ऐतिहासिक पृष्ठभूमि र हालका गतिविधिहरूको जानकारी दिनुभयो । उहाँका अनुसार, वि.सं. २०२५ साल फागुन ७ गते भक्तपुरमा रेडक्रस स्थापना भएको थियो । विपद् जोखिम न्यूनीकरण र मानवीय सेवा यसको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै उहाँले गत वर्ष मात्रै भक्तपुर जिल्लामा २३ हजार २ सय ९२ जनाले रक्तदान गरेका बताउनुभयो ।