काठमाडौं, भदौ २० । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेको समयमा सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दै गइरहेको छ, भवन लगायतका संरचना छन्,स्रोत र साधन छ, समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।
अहिले शैक्षिक क्षेत्र धेरै फरक भइसकेको उल्लेख गर्दै उहाँले समय अनुसार शिक्षण संस्थाले शिक्षा दिन सक्नु पर्नेमा जोड दिनुभयो । ‘पहिला विषयहरू कम थिए, स्कुल पनि थोरै थिए, अहिले भने मल्टिपल च्वाइसहरू छन्, शिक्षामा आएको यो परिवर्तन राजनीतिक परिवर्तनको परिणाम हो’, उहाँले भन्नुभयो ।
गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको पनि उहाँले बताउनुभयो । उहाँले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो । मेहनत बिना केही सम्भव नहुने बताउँदै उहाँले अवसरको महत्त्व बुझ्नुपर्नेमा जोड दिनुभयो । ‘क्वालिटी एजुकेसन लिनका लागि अब हामीले विदेश नै जानुपर्छ भन्ने छैन, तर मेहनत बिना केही सम्भव छैन, मेहनत हामी सबैले गर्नै पर्छ, अनुशासनमा बसेर प्राप्त गरेको अवसरहरूको महत्वलाई विद्यार्थीहरूले बुझ्नुपर्छ’, उहाँले भन्नुभयो ।












प्रतिक्रिया दिनुहोस्