जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार १८:१०

प्रचण्डले गरे अर्थमन्त्री खतिवडाको उच्च प्रशंसा


नवलपरासी, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अर्थमन्त्री डा. युवराज खतिवडाको उच्च प्रशंसा गर्नुभएको छ । नवलपरासीमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम र आगामी नीतिको बिषयमा अर्थमन्त्री खतिवडाले राख्नुभएको दमदार भाषणपछि प्रसंशा गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन पछि मुलुकमा देखिएको सकारात्मक संकेतको फेहरिस्त राख्नुभएको थियो । सरकारले केही गरेन भन्दै सुनियोजित आक्रमण गर्नेहरुले भएका कामको तथ्यतिर आँखा लगाउँदा सवै क्षेत्रमा सुधारको र समृद्धिको आधार फेला पर्ने तथ्य अर्थमन्त्री खतिवडाले राखेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै प्रसंशा गर्नुभएको हो ।

‘यहाँ मैले बोल्न पर्ने कुरै धेरै रहेन, बोल्न पनि परेन, तपाईहरुको कुरा सुन्नु थियो सुनिसके । बोल्न पर्ने कुरा केही थियो भने सरकारको थियो, माननीय अर्थमन्त्रीले बोलिसक्नुभयो सरकारको तर्फबाट । उहाँको यति दमदार कुरापछि थप बोलिरहनु नै परेन । सरकारको अहिलेको नीति के छ भन्नेकुरा आइसकेको छ,’ अर्थमन्त्रीको प्रसंशा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो । अध्यक्ष प्रचण्डले बर्तमान सरकारले गरेको कामलाई हेर्नेहरुले अर्थमन्त्रीले भनेजस्तै बिरोध गर्ने ठाउँ नै नपाउने ठोकुवा गर्नुभयो ।

उहाँले केही दिनभित्रै मन्त्री फेर्ने र्यूमरको उपचार गर्ने घोषणा पनि गर्नुभयो । ‘तपाईहरुले सुन्नु भएकै छ, यहाँ धेरै र्यूमर चलेको छ, चलाको चलाई छन । यो र्यूमरको आज भोलि नै हामीले अन्त्य गर्नुछ । त्यसको लागि आज हामी मिहिन छलफल गरी निकाश दिनेछौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । अध्यक्ष प्रचण्डले नीति क्षेत्रसँग सहकार्य गरेर नै बर्तमान सरकारले समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा गर्ने अठोट लिएको जानकारी दिनुभयो ।