जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार २०:१६

मुलुक बनाउन सरकार,इञ्जिनियर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्छ : उपराष्ट्रपति पुन


काठमाडौं, मंसिर ३ । उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउनु भएको छ । इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले आयोजना गरेको उज्जवल भविष्यका लागि उत्थानशिल पूर्वाधार विषयक अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्नुहुदै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनियर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘निर्माण सम्पन्न भएको केहि दिनमै संरचना किन भत्किन्छन ? कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भूकम्पपछिको पुर्ननिर्माणले लक्षित गति लिन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुर्ननिर्माणका लागि विदेशी सहयोग कत्तिको उपयुक्त हुने हो भन्ने प्रश्न समेत गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनिकरण र पुर्नलाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले दीगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नविनतम प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘रेजिलियण्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले विभिन्न कठिनतम परिस्थितीका बाबजुद पनि अन्य मुलुकको तुलनामा नेपालले पुर्ननिर्माणमा सन्तोषजनक प्रगति गरेको दावी गर्नुभएको छ । उहाँले अझै सिक्न अर्को विपद् कुर्न नहुने भन्दै विपद् प्रतिरोधी संरचना बनाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, श्रीलंका लगायत १० देशका ईन्जिनियर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।