जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार २०:४४

बैंकर्स संघले भन्यो : बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित छ


काठमाडौं, भदौ २५ । जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ । आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यलयमा क्षति पुगेको हो ।

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यलयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनले जनाएको छ । बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिनुभयो।

मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको अध्यक्ष कोइरालाको भनाई छ ।
त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको उहाँले बताउनु भयो ।

अध्यक्ष कोइरालाका अनुसार हालसम्म कुनैपनि बैंकको कार्यलयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने, फर्निच तोडफोड भने भएका छन ।मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको जानकारी पनि उहाँले दिनुभएको छ ।

‘बैंकका कार्यलयमा कर्मचारीहरू पनि नभएको र के कस्तो क्षति भएको छ भनेर अनुमान गर्न पनि सम्पर्क गरेर जनकारी लिने अवस्था नभएकाले क्षतिको विवरण आउन सकेको छैन,’ कोइरालाले भन्नुभयो । कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको उहाँले बताउनु भयो।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघले पनि मंगलबारको आन्दोलनको असरबारे बुधबार बिहान छलफल गरेको छ । डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।